धनगढी १ की ममता (नाम परिवर्तन) ले ४ पटकसम्म छोरा पाउने आशामा छोरी जन्माइन् । पाँचौ पटक गर्भवति हुँदा लिंग पहिचान गराउन क्लिनिक पुगिन्, गर्भमा छोरी देखिएपछि गर्भपतन गरिन् । दुई पटक गर्भपतन गराएकी उनले तेस्रो पटकमा छोरा जन्म दिईन् । ‘पहिलो सन्तान छोरी जन्माएँ । छोरा पाउने आशामा चार छोरी भइन् तर, छोरा नभएपछि लिंग पहिचान गराउन बाँध्य भएँ,’ उनले भनिन् । छोरी–छोरी भएपछि मनले मानेन । पाँचौ पटक गर्भवती हुँदा लिंग परिक्षण गरे । छोरी नै देखिएपछि गर्भपतन गरेँ ।’

टीकापुर नगरपालिकाकी पुर्णीमा (नाम परिवर्तन) ले पहिलो सन्तानका रुपमा छोरी पाईन् । दोस्रो सन्तान छोरा होस् भन्ने दम्पतीकै चाहना थियो । लिंग पहिचान नगराएपछि उनले दोस्रो सन्तानका रुपमा पनि छोरी पाईन् । ‘छोरा र छोरीमा भेदभाव नगरेपनि पहिलो सन्तान छोरी भएपछि दोस्रो सन्तान छोरा हुन भन्ने चाहना थियो’, उनले भनिन्, ’सुत्केरी हुनुभन्दा केही महिना अघि माइती घरमा बसेँ । फागुनको दोस्रो साता दोस्रो सन्तानका रुपमा छोरी भई । छोरी जन्मीएपछि आमालाई निकै तनाव भयो ।’ उनले अब गर्भवति भए लिंग पहिचान गरेर मात्र सन्तान जन्माउने योजना बनाएकी छिन् । ‘छोरा होला सोचेका थियौं सबैले तर छोरी भयो, अव ठिकै छ तर, अब चेकजाँच गरेर मात्रै जन्म दिन्छौं’, उनले भनिन् । 

ममता र पूर्णिमामात्र होईन पहिलो सन्तान छोरी भएपनि परिवार सदस्यभित्र एक छोरा अनिवार्य अधिकांसको चाहना अझै कायम रहेको छ । समाजले छोरा नै नभएपछि हेर्ने नजर र घर परिवारले पनि एउटा छोरा त चाहिन्छ भन्ने गरेपछि महिलाहरु छोराको आशमा ज्यान नै जोखिममा राख्छन् । भू्रण परिक्षण गर्दै गर्भपतनका कारण महिलाको स्वास्थ्य अवस्थामा जटिलता आउन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । ‘अहिले फेरी धेरै छोराछोरी भए विभिन्न समस्या हुने भन्दै पहिलो सन्तान नै छोरा भएको हेर्न चाहन्छन्’, स्वास्थ्यकर्मी यशोदा ढकाल भन्छिन् । 

सुरुमै एउटा छोरा भए दोस्रो सन्तान जे भएपनि चिन्ता नरहने अधिकांश दम्पतीको चाहना हुन्छ । श्रीमानले पनि यदि महिलाले हरेक पटक छोरी जन्माए दोष जती महिलालाई नै थोपार्ने चलन छ । छोरा छोरी समान भनेपनि व्यवहारमा यो लागु हुन सकेको छैन । उनले भनिन्, ‘जसले गर्दा धेरै महिला पीडामा छन् । पक्कै पनि यसमा महिला स्वयं सहभागी भएपनि तर साँच्चिकै उनीहरु मनदेखि नै यस्तो कार्य गर्न आफूखुशी तयार छैनन ।’ भू्रण परिक्षणपछि छोरी देखिए गर्भपतन गर्दा महिला पीडामा हुने स्वास्थ्यकर्मीको भनाई छ । 

पछिल्लो समय धेरै सन्तान नचाहने, छोरै चाहने र पहिलो सन्तान छोरा भए त्यसैमा सीमित हुने युवा पुस्ताका कारण छोराको संख्या बढ्दै छ भने छोरीको संख्या घट्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा शिशु जन्ममा छोराको तुलनामा छोरीको जन्म अनुपात ५० प्रतिशत भन्दा पनि कम रहेको छ । एक दशक अघिसम्म सुदूरपश्चिम प्रदेशमा छोरीको जन्म अनुपात छोराको तुलनामा अधिक रहे पनि अहिले कमी आएको छ । 
शहरीकरणसँगै कैलालीमा धमाधम खुल्दै गएको स्वास्थ्य संस्थाले महिलालाई भू्रण परिक्षण गरी लिंग पहिचान गराउन सहजता दिएको छ । कैलालीको धनगढीमा खुलेआम भू्रण परिक्षण तथा लुकीछिपी गरिने गर्भपतनले पनि छोरीको जन्मदरमा कमी आएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।