लसुनको प्रयोगले मानिसमा हुने हृदयघातको रोगलाई धेरै हदसम्म निको बनाउन सक्छ भन्ने वैज्ञानिक रुपमा पनि पुष्टि भैसकेको छ । यसको प्रयोग मसलाको रुपमा हुँदै आएको छ । तरकारी, मासुहरुमा यसको हरियो पात तथा पोटीलाई पिसेर चलाउने गरिन्छ । यसको खेती बारीमा मात्र गर्नु पर्छ भन्ने मान्यतामा व्यापक परिवर्तन ल्याई हाल कौशीमा पनि गर्न सकिन्छ । विशेषगरी हरियो पात खानको लागि कौशीमा गरिने यसको खेति प्रभावकारी छ । 

आवश्यक सामाग्री 

– माटो, मल, बालुवा मिसाइएको माटो राख्ने भाँडो (प्लाष्टिक थैला, बोरा, गमला, काठको भाँडो वा बाँसको भाँडो आफ्नो ठाउँमा जे उपल्ब्ध हुन्छ)
– कम्पोष्ट मल एक गमला बराबर २ के. जी. 
– लसुन बीउ एक गमला बराबर २० पोटी 
– माटो सिमेन्ट बोराको २ बोरा 
– भुस १ बोरा 
– बालुवा सिमेन्ट बोराको १ बोरा 
– पानी १० लीटर 

खेती गर्ने तरिका 

१. सर्वप्रथम गमलामा वा बोरामा माटो, मल र बालुवा भर्ने व्यवस्था गर्ने । 

२. २ बोरा माटो १ बोरा बालुवा एकै ठाउँ मिसाएर मोल्ने। यसरी मोलिएको माटोलाई गमला वा बोरामा राख्ने । 

३. यसलाई सम्म पारेर हातको सहायताले लसुनको केस्रालाई रोप्ने 

यसरी रोपीएको लसुन ३ दिन देखि नै उम्रन थाल्छ । २० दिन पछि नै उखेलेर खान सकिन्छ । लसुनको केस्रा रोपीसके पछि पुरै माटो भिज्ने गरी पानी हाल्नुपर्छ । यसमा परालले छोप्दा पनि हुन्छ नछोप्दा पनि हुन्छ । पानी आवश्यकता अनुसार ७ दिन देखि १० दिन सम्म दिन सकिन्छ । बढी सुख्खा भएको आवस्थामा दिन बिराएर पनि सिंचाई गर्न सकिन्छ । 

पोटी व्यवस्थापन 

यदि हरियो पात खाई नसकेर पोटीलाई राम्रो बनाउने हो भने बोटलाई पातलो बनाउन आवश्यक छ । त्यसमाथि माटोलाई खुकुलो बनाउनु पर्दछ । त्यसको लागि थप बालुवाको चोकर र धानको भुस गमलामा केस्रा रोप्नु भन्दा अगाडि नै लगाउन सकिन्छ । चिनियाँ खेती पद्धतिमा यस्तो गर्ने चलन पनि छ। 

रासायनिक मल र औषधी 

यो सानो भाँडोमा घरायसी प्रयोजनको लागि मात्र गरिने हुनाले यसमा रासायनिक मल तथा विषादी प्रयोग नगर्नु नै उत्तम मानिन्छ ।