पति वा पत्नीको मृत्युपछि अर्को विवाह नगरी बस्ने महिला अथवा पुरूषलाई समाजमा विधवा र विधुर भन्ने चलन थियो । यो परिभाषालाई बदलेर हिजोआज एकल भन्ने गरिएको छ । विधवा र विधुरप्रति समाजमा हुने असामान्य व्यवहारका कारण उक्त परिभाषा परिवर्तन गरिएको हो । पहिले महिलाहरू पतिको मृत्युपछि एक्लै जीवन बिताउनुपर्ने बाध्यतामा थिए भने पत्नीको मृत्युपछि अर्को विवाह गर्नैपर्ने बाध्यता पुरुषलाई थियो । पत्नीको निधनपछि अर्को विवाह नगर्ने पुरुषलाई पूजा-आजा तथा चुल्होचौकामा सामेल गरिँदैनथ्यो । पत्नीको साथबिना गरिने कुनै पनि धार्मिक कार्यको प्रतिफल प्राप्त हुँदैन, पत्नीबिनाको तीर्थ/व्रत बेकार हो भन्ने कुरा धर्मग्रन्थमै उल्लेख गरिएका कारण पनि वृद्धावस्थामा अर्को विवाह गर्न बाध्य थिए एकल पुरुषहरू । 

६० वर्ष उमेर नाघेका वृद्धले ८ वर्षकी किशोरी विवाह गर्ने अवस्थाका कारण नेपाली समाजमा विधवाहरूको संख्या ठूलो हुनु स्वाभाविक थियो । अहिले यो विकृति धेरै हदसम्म हटेको छ । समाजले हेर्ने दृष्टिकोणका कारण वृद्धावस्थामा विवाह गर्नुपर्ने बाध्यता पुरुषलाई छैन । महिलाले पनि पतिको निधनपछि आफूले चाहे अर्को विवाह गर्न सक्ने अवस्था छ । यद्यपि एकल महिलाले सामान्यतः दोस्रो विवाह गर्ने परिस्थिति रहँदैन । छोरा–छोरी हुर्काउनुपर्ने दायित्व एकातिर हुन्छ भने अर्कातिर सामाजिक तथा धार्मिक रुढिवाद अझै तगारोको रूपमा छ । एकल महिलासँग विवाह गर्ने पुरुषलाई दोस्रो दर्जाका रूपमा हेरिन्छ । पुरुषहरू यस्तो जोखिम लिन हत्तपत्त चाहँदैनन् । विवाह गर्न चाहेको अवस्थामा एकल महिलाले आफ्नो स्तर सुहाउँदो पुरुष फेला पार्न सजिलो छैन । 

एकल महिलको क्षेत्रमा काम गर्ने संस्था कुन-कुन हुन् ? यस्तो अन्यौलताले यतिबेला चर्को द्वन्द्व सिर्जना गरेको छ । जिल्ला भित्र रहेर काम गर्ने संस्था धेरै खोलिए पनि काम गर्ने संस्था भने भेटिँदैनन् । धेरै संस्था भएकाले होला कसले गर्ने वा आफ्नो संस्थाको डकुमेन्टेशन गर्न प्रक्रिया पुग्छ कि पुग्दैन भन्ने सोचाईले गर्दा महिलाहरुले न्याय पाएको विरलै मात्रामा छ । एकल महिलाको परिभाषा के हो ? एकल महिलाको क्षेत्रमा काम गर्ने संस्थालाई थाहा छैन । संस्था दर्ता गरेर आफ्नै परिभाषा राख्नाले एकल महिलाको अधिकार के हो भन्ने उनीहरुमा प्रष्ट भएको छैन । एकल महिलाको क्षेत्रमा काम गर्ने आधा दर्जन संघसंस्था यतिबेला एकले अर्काको कुरा काट्न मै व्यस्त छन् । यसले गर्दा एकल महिलाको अधिकार छायाँमा पर्ने हो की भन्ने चिन्ता महिला अधिकारकर्मीहरुलाई छ । मानवअधिकारका लागि एकल महिला, एकल महिला समाज, युवा विधुवा एकल महिला समूह, युथ एशोसिएशन अफ नेपाललगायतका संस्था क्रियाशील छन् । 

महिला अधिकारकर्मी कविता शर्माले ज्ञानको कमी भएकाले संस्थाहरुले आफ्नो जिम्मेवारी के हो भन्ने नबुझेको बताइन् । उनले – ‘संस्था स्थापना गर्न सबैलाई अधिकार छ, तर यस्ता संस्थाहरुमा सहकार्य छैन ।’ राज्यले एकल महिलाका लागि राज्यकोषबाट सहयोग उपलब्ध गराउन थालेपछि संस्था खोल्नेको लहर चलेको उनको भनाई छ । शर्माले भनिन्, ‘संस्थाको लिडिङ गर्ने मान्छे छैनन् । संस्था स्थापना गर्दा त्यसको हेरचाह गर्ने केन्द्रस्तरको संस्था आवश्यक छ ।’ 

‘पैसा देखेपछि महादेवको तीन नेत्र’ भने झैँ यतिबेला जिल्लामा संस्था स्थापना भइरहेको केही संस्थाका प्रतिनिधि बताउँछन् । संस्था खोल्दैमा अधिकार प्राप्त हुँदैन । काम नै गर्नुपर्छ । यता मानवअधिकार महिला एकल महिलाकी रेखा अधिकारीले भनिन्– ‘संस्था दर्ता गर्न पाइन्छ कुनै समस्या छैन । तर, सरकारी बजेट पाइन्छ भन्ने लोभले स्थापना गर्नु हुन्न ।’ आफ्नो संस्थाले धेरै काम गरिरहेको छ भन्ने महत्वकांक्षीले गर्दा यस्तो द्वन्द्व सिर्जना भएको पाइन्छ । आफ्नो संस्था काम गर्ने अरुले गरेको नदेख्ने प्रवृत्ति पनि बढ्दै गएको छ । 

युथ एशोसिएशन अफ नेपाल (यान) की मोना खरेलले नेपालमा कुनै पनि समस्या नभएको बताइन् । एकल महिला समाजकी अध्यक्ष गीता बुढाथोकी भने एकल महिलाको नाममा संस्था खोल्ने र काम गरेको मात्र देखाउने गरेको प्रवृत्तिले समस्या पैदा गरेको बताइन् । एकल महिलाको क्षेत्रमा काम गर्ने यस्ता संस्थाहरुबीच समन्वय र सहकार्य हुन नसक्दा धेरै एकल महिलाहरु आफ्नो अधिकार पाउनबाट बञ्चित बनेका छन् । धेरै संस्था खोलिएपछि कसले कहाँ गर्ने ? कति गर्ने ? भन्ने प्रश्न उठ्दो रहेछ । हानाथापले गर्दा अन्ततः सबै असफल बन्दा रहेछन् । एकल महिला भनेको के हो भन्ने बारे कोही प्रष्ट छैनन् । सबैका परिभाषा बेग्ला-बेग्लै छन् । यसले पनि अन्यौलता छाएको छ । 

कुनै संस्थाले श्रीमान् बितेपछि हुने विधुवा महिला एकल महिला हुन् र सम्बन्ध विच्छेद गरेका महिला एकल महिला हुन् भन्छन् । त्यस्तै कुनै संस्थाहरु ३५ वर्ष काटेका अविवाहित महिला, अशिक्षित, अपाङ्गता भएका महिला, स्वास्थ्यमा पहुँच नभएका महिलाहरु एकल महिला हुन् भन्ने गर्छन् । किशोरी भएर विधुवा (एकल) महिलाको क्षेत्रमा काम गर्न सम्भव नभएको मानवअधिकारका लागि एकल महिलाकी रेखा अधिकारी बताउँछिन् । 

जिल्लामा महिला हिंसा बढिरहेको छ । हिंसा न्यूनिकरण गर्न महिला अधिकारकर्मी वा महिलाको क्षेत्रमा काम गर्ने संघसंस्था आफ्नै स्वार्थमा चल्ने गर्छन् । यसको परिणाम धेरै महिलाहरुले जीवनलाई गुमाउनु पर्ने पनि हुन्छ । यसको उदाहरण २०६८ साल फागुन १० गते विर्तामोडको बसपार्कमा घटेको घटनाबाट पनि पुष्टि हुन्छ । घरमै आएर दुई युवाले शनिश्चरे–७ स्थित गोमा रिमालको शरीरमा तेजाव खनाइदिएपछि उनी शारीरिक रुपमा गम्भीर विरामी परेकी थिइन् । केही महिला अधिकारवादी संस्थाले त त्यो घटना सुनेको पनि छैनन् । सुन्नेहरुले पनि केही गर्न सकेनन् । रिमालको शरीर डढेको थियो । उपचारबाट निको हुने सम्भावना पनि थियो । महिलाको नाममा लाखौं पैसा खर्च गर्ने संघसंस्थाले के गर्न सके उनका लागि ? अन्तिममा मृत्युलाई स्वीकार्नु पर्‍यो रिमालले । आगामी दिनमा एकल महिलाको क्षेत्रमा काम गर्छु भनी नारा लागउनेहरुले सहकार्य र समन्वय गरेर आफ्नो क्रियाकलापलाई अगाडि बढाउनुपर्छ । नत्र आफैंले खनेको खाल्डोमा परिएला !