देश परिवर्तनका लागि १० बर्ष देशमा चलेको सशस्त्र द्वन्द्वको घाउले आज पनि रोल्पालीलाई दुखाइरहेको छ।मृतकका परिवार विनाकारण आफन्त मारिनुको कारणबाट बेखबर छन् भने बलजफ्ती बेपत्ता पारिएका परिवार पर्खाइमा बसेका छन् । घाइते, अपांग, विस्थापित, सम्पत्ति लुटिएकाको त कतैकतै गन्तीसमेत हुन छोडेको छ । उल्लेखित पीडितहरू कतै न कतै तै राज्यको सामीप्यतामा आएका छन्। धेर–थोर राहत बुझेका छन् वा सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तीको छानबिन आयोगमा उजुरीसम्म गर्न पाएका छन् । आर्थिकसँगै मनमा चरम मानसिक समस्या बोकेर हिँडेका पीडितको अपेक्षामा तुवालो लागे पनि अपेक्षा गर्ने सानो ठाउँ छ । तर तत्कालीन माओवादी द्वन्द्वका समयमा अन्य यातनासँगै यौन हिंसा खेपेका महिलाका बारेमा आजसम्म पनि राज्य मौन बसिँदिदा धेरै महिलाहरू मानसिक समस्या बोकेर अधकल्चो जीवन बाँचिरहेका छन् । बलात्कारको घाउमा खाटा लागेको देख्ने उच्च राजनीतिक नेतृत्वसँग उनीहरूको गुनासो पनि रहेको छ । 

२०७८ चैत महिनामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको छेउमा बसेका माओवादी सुप्रिमो पुष्पकमल दाहालका अघिल्तिर द्वन्द्वका समयमा यौन हिंसा खेपेका हिम्मत बोकेका महिलाहरूले आफ्नो पीडा सुनाए । नेताद्वयले आँशु पनि भसरे तर उपलब्धि आजसम्म पनि शून्य छ । ‘नेताले सत्तामा पुगेर सहयोग गर्लान भनेको प्रमाणका रूपमा बलत्कारको घाउ देखाउँस् भन्छन् । बलात्कारको घाउ खोज्न कहाँ जानु? द्वन्द्वमा यौन हिंसा खेपेकी पूर्वी रोल्पाकी एक पूर्वलडाकु भन्छिन्, ‘महिनौं सेनाको कब्जामा बस्दा दिनदिनै मरेको शरीर शान्ति स्थापनापछि हाम्रै नेतृत्व आउँदा केही त होला भन्ने थियो तर उनीहरूले नै घाउ देखाउँस् भन्छन्। चिकित्सकका अनुसार यतिबेला शारीरिकसँगै मानसिक रोगको शिकार भएकी उनलाई गतिलो उपचारको खाँचो छ तर आर्थिक अभावमा मृत्युको दिन गन्दैछिन् । 

सेनाको चरम यातनासँगै लामो समय हिंसा भोगेकी उनको शरीरमा सुगर, प्रेसर, युरिक एसिड लगायत आधा दर्जनभन्दा बढी रोगले आक्रमण गरेको छ । ‘भोलि बादल लाग्छ कि घाम लाग्छ शरीरले आजै थाहा पाउँछ । पेटभरि खाने पैसा छैन उपचार केले गर्ने ? पूर्वलडाकु ती महिला भन्छिन्, ‘दैनिक मजदुरी गर्ने श्रीमान्ले मेरो स्याहार गरुन् कि पैसा कमाउन जाउन् । विचरा उनको शरीरमा पनि छर्रा छ । मर्न मन लाग्छ तर छोराको अनुहार सम्झेर आत्महत्या गर्न पनि सक्दिन । निरन्तर मनोविमर्श सेवा, मानसिक उपचारसँगै शारीरिक उपचार आवश्यक पर्ने उनलाई आफू परिवर्तनका लागि युद्धमा होमिएको पछुतो लाग्न थालेको छ । 

रोल्पाकै दुर्गम गाउँकी अर्कि एक महिला विगत सम्झेर एक्लै रुन्छिन् । देशमा द्वन्द्व चल्दा बलात्कारमा परेको जानकारी पाएपछि श्रीमान्को माया घट्दै गएको बताउने उनले मर्नका लागि ३ पटक प्रयास समेत गरिन्, तर सकिनन्। ‘सानै थिएँ। शनिबार गोठाला गएको बेला छिर्केबिर्के लुगा लगाएका ३ जनाले पालैपालो मलाई जबरजस्ती गरेका हुन् । आज पनि त्यो कपडा लगाएको मान्छे देख्दा तर्सिन्छु, उनले भनिन्, ‘बिहे गरेको अलि समयपछि श्रीमानले म बलात्कारमा परेको थाहा पाएछन् । अहिले त्यही कुरा सुनाइरहन्छन्। अति भएपछि ३ पटक मर्ने प्रयास गरेँ, तर सकिनँ । थाहा पाएर पनि केही नबुझेजस्तो गर्ने राजनीतिक नेतृत्वसँग उनको धेरै अपेक्षा छ । 

जिल्ला अस्पतालका चिकित्सकहरू रोल्पामा मानसिक स्वास्थ्य समस्या अत्याधिक रहेको बताउँछन् । अत्याधिक मदिरा, गरिबीसँगै विगतको द्वन्द्वका कारण पनि आत्महत्या बढिरहेको हो। ‘मानिसहरूमा कुनै रोग नभए पनि विभिन्न समस्या लिएर अस्पताल आउने गरेका छन् । एक चिकित्सक भन्छन्, ‘धेरै घाइते अपांगहरू अस्पताल आएर रुन्छन् । हिंसापीडित हामीसँग खुल्दैनन् तर उनीहरूमा व्यापक मानसिक समस्या छ। बेपत्ताका श्रीमतीहरू पनि असाध्यै पीडामा छन् । चिकित्सकहरूका अनुसार रोल्पामा द्वन्द्वले नमिठो छाप छोडेको छ । उतिबेलाका सत्ता पक्ष र विद्रोही पक्ष पटक-पटक सँगै सत्ताको दैलोमा छिरेका छन् । राजनीतिक उच्च नेतृत्व काँध मिलाएर सबै भुलेका छन् तर भोग्नेको घाउ दुखिरहन्छ । माओवादी युद्ध दबाउन बल लगाएको कांग्रेस र बन्दुकबाट सत्ता खोजेको माओवादी यतिबेला पनि एउटै हौ जस्तो गरेर बसेका छन् । अर्थात् भागबन्डामा छन् । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तीको छानबिन आयोग सक्रीय नपारिदिँदा त्यहाँ दर्ता गरिएका उजुरीको सुरक्षामाथि समेत प्रश्न उठ्न थालेको छ । शान्ति स्थापनापछि पटक-पटक राज्य सत्ताको मुल दैलौबाट भित्र छिरेका करिब दर्जन नेतृत्वले द्वन्द्वपीडितका पक्षमा कहीँ कतै सम्बोधन समेत गरेको पाइँदैंन । 

दुईपटक उपराष्ट्रपति बनेका नन्दबहादुर पुन रोल्पाकै माटोका उत्पादन हुन् । पटकपटक मन्त्री हुँदै सभामुख बनेका कृष्णबहादुर महरा र ओनसरी घर्ती रोल्पामै जन्मे हुर्केर यहिँबाट राजनीति सुरु गरेका पात्र हुन् । पटकपटक मन्त्री बनेका वर्षमान पुनले अर्थमन्त्रालयसम्म सम्हाले । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री रोल्पामै शिक्षण पेसा गर्दा गर्दै युद्धमा होमिएका थिए । मन्त्रीको पदमा जयपुरी घर्तीले पनि स्थान पाएकी थिइन् । उनी सहिद परिवारसमेत हुन् । त्यसो त कांग्रेस प्रदेश सभापति अमरसिंह पुन पनि शान्ति प्रकृयापछि मन्त्रालय छिरे। तर यी सबै पात्रले द्वन्द्वको घाउमा मल्हम लगाउन गतिलो भूमिका कहिले नखेलेको पीडितको गुनासो छ । 

तत्कालीन माओवादी द्वन्द्वका क्रममा ९ सय ६९ सहिद र ३३ जना बेपत्ता रहेको रोल्पामा घाइते, अपांग, टुहुरा, एकल महिला, विस्थापित, अंगभंग हुनेको संख्या गनि नसक्नुको छ । द्वन्द्व सकिएर शान्ति स्थापनाको १६ वर्ष पूरा भइसक्दासम्म पनि वास्तविक पीडितको अवस्था दर्दनाक र कहाली लाग्दो देखिन्छ । नाँगो आँखाले हेर्दा रोल्पा शान्त देखिए पनि आम मानिसको मनमा पीडा र छटपटिले बास गरिरहेको छ । शान्ती स्थापनासँगै सत्ता चलाउनेहरूले यहाँ विकास भनेको सडक हो भन्नुभन्दा अरू बुझेको देखिँदैन ।