काठमाडौं - ‘डीभी एजुकेशन सक्षम नारी सम्मान २०७९’ अन्तर्गत डीभी एजुकेशन ग्रुपले विभिन्न विधाका ९ जना नारीलाई सम्मान गरेको छ।

माइती नेपालकी संस्थापक अनुराधा कोइराला प्रमुख अतिथि रहेकी सम्मान कार्यक्रममा शिक्षा क्षेत्रबा खुला विश्वविद्यालयकी उपकुलपति प्रा. डा.शिलु मानन्धर बज्राचार्य, पत्रकारिता क्षेत्रबाट नागरिक नेटवर्ककी सीईओ समृद्धि ज्ञवाली, सामाजिक कार्यअन्तर्गत डीआइजी किरण बज्राचार्य, मेडिकल क्षेत्रबाट सिनियर गाइनोकोलोजिष्ट डा. स्वराज राजभण्डारी, स्टार्टअप इनोभेशनको क्षेत्रबाट २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ, हस्पिटालिटी र टुरिजम क्षेत्रबाट नेपाल टुरिजम बोर्डकी निर्देशक नन्दनी लाहे थापा, बिजनेस र बैंकिङ क्षेत्रबाट भायानेट कम्युनिकेसनकी सीईओ सेवा पाठक, खेल क्षेत्रबाट शैली बस्नेत र संगीत क्षेत्रबाट गायिका इन्दिरा जोशीलाई सम्मान स्वरूप सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा कोइरालाले नेपालमा गरिबीले भन्दा पनि अशिक्षाका कारण महिलाहरू बेचिनु परेको बताइन्। उनले नेपालमा नारीहरू समस्यामा परेको बताउँदै ग्रामीण भेगमा अहिले पनि लैंगिक असमानता रहेकोले अनिवार्य निःशुल्क शिक्षालाई राज्यले कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिन्। कोइरालाले सम्मान पाउने नारीले जुन जुन विधामा सम्मान पाएका छन्, त्यो क्षेत्रमा भएका विकृति हटाउन लाग्दा मात्र सम्मानको अर्थ हुने बताइन्।

डीभी एजुकेशनकी निर्देशक इशानी श्रेष्ठले विभिन्न क्षेत्रका नारीहरूलाई डीभी एजुकेशन सक्षम नारी सम्मान २०७९ बाट सम्मान गर्न पाउँदा खुशी लागेको बताइन्। उनले यस्ता सम्मानले नारीहरूलाई आफ्नो क्षेत्रमा काम गर्न हौसला मिल्ने बताउँदै सम्मान गरिएको जानकारी दिइन्।