भनिन्छ दाँत बलियो भयो भने आँट बलियो हुन्छ। त्यसैले पनि त देशविदेशका शोधखोजकर्ताहरुले भनेका छन् यदि दाँतलाइ समय समयमा राम्रो हेरचाह गर्‍यो भने र अलिकति दाँतमा खराबी आउने बित्तिकै सहि उपचार गर्ने हो भने यसको आयू १०० वर्ष भन्दा बढी हुन्छ । राम्रा दाँत भएमा बुढेसकालमा अरु शरीरका अंग कमजोर भएको बेला शरीरलाइ आवश्यक पर्ने खानेकुराहरु सजिलै चपाएर खान सकिन्छ र शरीरलाई बलियो बनाएर धेरै बाँच्न सकिन्छ । जसरी हामी छोरा–छोरीको ख्याल राख्छौं पढाउछौं, लेखाउँछौं, उनीहरुको लागि दुःख कष्ट सहन्छौं ताकी बुढेसकालको सहारा बनोस् भनेर। तर धेरै छोरा–छोरीले तपाईंलाइ बुढेसकालमा वृद्धाश्रममा छोडिदिन्छन् त्यसपछि तपाईंको साथी सहारा केवल दाँत हुनेछन् ।

विभिन्न शोधकर्ताहरुले पनि जसका दाँत स्वस्थ छन्, चपाउन योग्य छन्, तिनीहरुको बुढेसकाल सुखदायी र स्वस्थ हुन्छ भन्ने मान्यता राख्छन्। त्यसमा सत्यता छ । त्यसैले हामी सबैले आफ्नो दाँतको बारेमा जानकारी राख्नु जरुरी छ । साथै दाँतलाइ कसरी स्वच्छ र सफा राख्ने भन्ने कुरा जान्नु पनि अति आवश्यक छ । अझै पनि धेरै मानिसलाई मुख स्वास्थ्यका बारेमा जानकारी छैन। दाँत सफा राख्नुपर्छ भन्ने जानेका मानिस पनि मुख स्वास्थ्यबारे अनभिज्ञ छन् । मुख स्वास्थ्य भनेको दाँत मात्र नभई गिजा, जिब्रो, भित्रको गालासमेत पर्छ। दाँत मात्र माँझेर मुख सफा वा स्वस्थ रहँदैन। दाँतका साथसाथै जिब्रो, गिजालाई पनि सफा र स्वस्थ राख्न आवश्यक छ।

नेपालमा धेरै देखिने स्वास्थ्य समस्यामध्ये दन्त समस्या पनि एक हो । नेपालका सन्दर्भमा किरा लागेर दाँत टुक्रा-टुक्रा भएर झर्ने, गिजासम्बन्धी समस्या भएर दाँत झर्ने तथा सुन्निने समस्या धेरै छ । दाँतमा किरा लागेर जरासम्म असर गर्दा नशासम्मको उपचार गर्नुपर्ने केसहरु धेरै आउँछन्। मुखको सरसफाइ राम्ररी गरिएन भने किरा लाग्छ तथा गिजामा समस्या आउँछ। जनमानसमा ब्रस गरेपछि कुल्ला गर्ने, जिब्रो सफा गर्ने बानी नभएकाले अन्य समस्या सुरु हुन्छ। यसरी सफा नगर्दा दाँत र गिजाको बीचमा फोहोर जम्न थाल्छ, त्यो फोहोरले नै गिजालाई पनि असर गर्छ। पछि त्यही सानो समस्याले ठूलो रुप लिएर अन्य जटिल समस्या देखाउन थाल्छ। 

कसरी सफा राख्ने दाँत तथा गिजा ? 

दिनको दुई पटक ब्रस गर्ने, गुलियो खाएपछि सफा गर्ने गर्नुपर्छ । दाँत माझ्दा दाँत र गिजाको बीचमा ब्रस राखेर सफा गर्नुपर्छ। सुत्नुभन्दा अगाडि मनतातो पानीमा नुन राखेर कुल्ला गर्ने बानी मुख स्वास्थ्यको लागि सबैभन्दा राम्रो उपाय हो । नुनपानीले मुख कुल्ला गर्नाले मुखमा लाग्ने धेरै रोग लाग्नबाट बचाउन सहयोग गर्छ । तर यो सजिलो उपायलाई धेरैले बेवास्ता गरेको पाइन्छ। दाँत स्वस्थ बनाउनका लागि ६ महिनाको अन्तरमा दन्त रोग विशेषज्ञकोमा गएर जँचाउने, दाँत र गिजाको बीचमा रहेको फोहोर सफा गर्ने गर्नुपर्छ। अर्को महत्वपूर्ण कुरा, दाँत जहिले पनि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको विशेषज्ञ चिकित्सकको मात्र देखाउने गर्नुपर्छ । दाँत उपचारको काम सिकेका ‘क्वाक’ हरुबाट सकेसम्म उपचार गराउनुहुन्न । जथाभावी उपचार गराउँदा निको हुनुभन्दा उल्टो समस्या देखिनसक्छ। त्यस्ता कुराबाट बच्नुपर्छ । हरेक नेपालीलाई कुनै न कुनै प्रकारको मुखसम्बन्धी समस्या छ । त्यसैले सानैबाट मुख स्वस्थ राख्न अन्य जाँच जस्तै मुखको पनि परीक्षण गरिरहनुपर्छ । 

दाँत माझ्दा ध्यान दिनुपर्ने कुराहरु 

दिनको दुई पटक दाँत माझ्ने, जहिले पनि मञ्जन प्रयोग गर्ने, दाँत माझ्दा पाउडरवाला मन्जन प्रयोग नगर्ने । पाउडर प्रयोग गर्दा दाँत खिइन्छ । मानिसहरु दाँत सेतो बनाउने रहरले कागती, नुन, तेल, कोइला, दतिवनजस्ता वस्तुले दाँत माझ्ने गर्छन्। तर त्यस्ता चिजले कहिल्यै दाँत सफा गर्नुहुन्न । ती वस्तुले दाँतलाई खियाउने समस्या हुन्छ, जसले दाँतलाई कमजोर बनाइदिन्छ । दाँत माझ्ने ब्रस तीन महिनाको अवधिमा परिवर्तन गर्नुपर्छ । अर्को महत्वपूर्ण कुरा, दाँत स्वास्थ राख्नका लागि खैनी, चुरोट तथा मदिरापानबाट टाढै रहनुपर्छ। गुलियो कम खाने, स्वस्थ र सफा खानेकुरामा जोड दिने गर्नुपर्छ । 

(डा. दाहाल चिकित्साशास्त्र अध्ययन संस्था, शिक्षण अस्पताल दन्त विभागको उपप्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ)