महिला सम्बन्धी पूँजीवादी विकृत अवधारणालाई परास्त गर्दै समाजवादी व्यवस्था स्थापनाका लागि उत्पीडित र श्रमजीवी महिला आन्दोलनको तयारी गर्नु आजको आवश्यकता हो ।
मानव समुदायले जतिवेलादेखि स्वतन्त्रता, समानता र न्यायका लागि मुक्तिका विभिन्न उपाय खोज्न थाले, त्यतिवेलैदेखि जन्मदेखि मृत्युपर्यन्त दासत्वका विभिन्न जालोले जेलिएका महिलाहरूले तमाम उत्पीडनको साङ्लो चुडाउन भरमग्दुर प्रयत्न गरेको इतिहास पढ्न पाइन्छ। ‘जबसम्म हिँड्ने प्रयास हुँदैन, तबसम्म साङ्लोमा बाँधिएको महसूस नहुन सक्छु (रोजा लक्जम्वर्ग, सन् १८७१)। तसर्थ महिला मुक्तिको मुद्दा झन् पछि झन् फराकिलो र विशिष्ट बन्दै छ ।
जसरी पूँजीवादमाथि आधारित विभिन्न दर्शनले समानता, स्वतन्त्रता, भ्रातृत्वको कुरा ग¥यो। त्यसरी नै महिला स्वतन्त्रता, समानता र न्यायको कुरा यूरोपमा विकसित पूँजीवादी औद्योगिक क्रान्तिताकादेखि नै उठ्न थालेको हो। त्यसताकादेखि नै पूँजीवादी व्यवस्थाको विकल्पमा समाजवादी अर्थतन्त्र र राज्यप्रणालीको स्थापनाका लागि विमर्श र अभ्यास शुरू भयो। पूँजीवादी व्यवस्थाले महिलामाथि सिर्जना गरेको आर्थिक, सामाजिक र राजनीतिक उत्पीडनविरुद्ध सही र क्रान्तिकारी विचारको खोजी र प्रयोग गर्ने काम निरन्तर हुँदै आएको छ ।
परिवार, समाजको विकासक्रमसँगै मानव समाजले स्वतन्त्रता र मर्यादित जीवनका लागि वर्गीय र लैंगिक लडाइँ लड्दै आयो। महिला मुक्तिका लागि पृथ्वीको पश्चिमी गोलार्द्धका महिलाहरूले संघर्ष र प्रतिरोध गरेका कथा र गाथाहरू इतिहासका पानामा अलि धेरै पढ्न पाइन्छ। किनकि अध्ययन, मनन र लेखोटको शुरूआत त्यतैबाट भयो । १७औं शताब्दीदेखि नै महिलाहरूले सम्पत्तिमा समान अधिकार, मताधिकार, प्रजनन स्वास्थ्य र शिक्षाको माग उठाउँदै संघर्ष गरे। वर्तमान विश्वमा मूलतः पूँजीवादी अर्थात् उदारवादी महिला अवधारणा भर्सेस समाजवादी अवधारणाकै वर्चस्व छ। पछि विकास भएको भनिएको महिलाको विकासवादी अवधारणा पनि माथि उल्लिखित अवधारणामा थप वा संशोधनकै विभिन्न रूप हुन् । जसमध्ये मार्क्सवादी, नवमार्क्सवादी वा उदारवादी, नवउदारवादी राज्य प्रणालीका मूल स्वरूपहरू नै अभ्यासमा छन् ।
नेपालको संविधान २०७२ ले पनि महिला हक अधिकारको कुरालाई जोडतोडका साथ सुनिश्चित गरेको छ । प्रस्तुत संविधानको धारा १८ मा समानता हकअन्तर्गतको व्यवस्थामा कानुनको नजरमा सबै समान हुनेछन् र कसैलाई पनि जातजाति धर्म, वर्ण, लिंग, वैवाहिक स्थितिको आधारमा भेदभाव गरिने छैन भन्ने प्रावधान र धारा ३८ मा महिलाको हकअन्तर्गतको प्रत्येक महिलालाई समान वंशीय अधिकार हुनेछ भन्ने प्रावधानलाई समेत आत्मसात् गर्दै विधायिकाले नागरिकता सम्बन्धी ऐन र नियम निर्माण गर्दा पूर्णरुपमा नागरिकतामा वंशीय अधिकार प्रदान गर्नु पर्दछ । तर आज संविधानमा महिला अधिकारलाई समावेश गरे तापनि नीति एकातिर काम अर्कोतिर चलिरहेको छ ।
वास्तविक रुपमा व्यवहारमा लागू हुन सकेको अवस्था छैन । अझै भनौ, संविधानमा महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धि हक हुने, महिला विरुद्ध धार्मिक, सामाजिक, साँस्कृतिक र परम्परागत आधारमा शारीरिक वा मानसिक रुपमा यौनजन्य वैधानिक रुपमा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नपाउने र गरेमा कारवाही र दण्ड तथा पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था संविधानमा उल्लेख गरेको छ ।
तर महिलाहरुले यो सम्बन्धि अधिकारको पूर्ण कार्यान्वयनको चरणमा पुग्न सकिरहेका छैनन् । यो भनिरहँदासम्म देश तथा विदेशमा कैयौँ महिलाहरु घरेलु हिंसाको सिकार भइरहेका छन् । दमन र शोषण अनि बेचबिखनका रुपमा देशका कुना काप्चाहरुमा अवैधरुपमा बस्न बाध्य छन् । महिलाका हक अधिकारका लागि कति संघसंस्थाहरु दिनरात नभनी खटिरहेको छ । तर पनि महिला अधिकारका कुराहरु केही मात्रामा सहज भए तापनि मुख्य जालो अझै हट्न सकेको छैन । महिलाहरु राज्यका मुख्य तहमा नपुगेका पनि होइन तर महिलामैत्री वातावरण र चेतना कतिपय देशमा पुग्न नसक्दा महिलाहरु ओझेलमा परेका छन् ।
महिलाहरुको अग्रसरताले समाजमा चेतनास्तर बढेको छ । उनीहरुको शैक्षिक स्तर वृद्धि भइरहेको छ । पढेलेखेका महिला पुस्ताहरु दिनदिनै बढेका छन् । शिक्षा, रोजगारीका अवसरहरु पाएसँगै उनीहरु एक वा दुई सन्तान जन्माउने र सुखी अनि खुसी र समृद्ध परिवार बनाउनेतर्फ पनि केन्द्रित भएका छन् । नारी वास्तवमा यो धर्तीको सृष्टिकर्ता र सन्तानहरुकी जन्मदाता हुन् । एक त यिनीहरु आफैमा सुन्दरता पनि हुन् । त्यसैले त भनिन्छ, नारी र पुरुष एक रथका दुई पाग्रा । त्यसैले घर समाज र राष्ट्रको र देशमा महिला नै अगाडि बढेर लाग्न सकेमा महिला सशक्तीकरण र उन्नतिपथमा लाग्न मद्दत पु¥याउँदछ । महिलाहरु एकजुट भएर आफ्ना हक अधिकारलाई बुलन्द गर्ने, प्रचार प्रसार गर्ने मुख्य दिन भएको हुँदा पनि नारी दिवसको महत्व छ ।
महिलामाथिको उत्पीडन आठ हजार वर्ष पुरानो हो । महिलाहरू लैंगिक रूपमा मात्रै नभई सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिकलगायत कैयौँ उत्पीडनको चपेटामा छन् । पितृसत्ता जति पुरानो छ, त्यति नै पुरानो छ महिलामाथि उत्पीडनको इतिहास । यस अर्थमा आजसम्मको इतिहासकै सबैभन्दा लामो र निर्मम उत्पीडन महिलाले भोगेको उत्पीडन हो । दासयुगको सुरुवातसँगै निजी सम्पत्तिको गठन र त्यसलाई संस्थागत गर्न विकास भएको एकनिष्ठ विवाह संस्थाको आरम्भसँगै पितृसत्ताको उदय भएको मानिन्छ । महिला दासताको सुरुवात पनि मातृशक्तिको पतन र परिवार तथा निजी सम्पत्तिको उदयसँगै भएको हो । वास्तवमा सबैभन्दा पहिले विवाह संस्था र निजी परिवारको गठन नै महिला दासतालाई संस्थागत गर्ने आधार बन्यो । माक्र्सवादी चिन्तक एभलिन रिड भन्छिन्, ‘मातृसत्तात्मक साम्यवादलाई उल्ट्याई पितृसत्तात्मक समाजको सुरुवातसँगै महिलालाई सामाजिक र सांस्कृतिक जीवनबाट अलग्याई घरको नोकरचाकरमा मात्र सीमित गरियो ।’ तसर्थ निजी परिवार र निजी सम्पत्तिको उदयसँगै समाज पितृसत्तात्मक भएपछि आरम्भ भएको हो– महिलामाथिको दमनको यात्रा अर्थात् महिला दासताको सिलसिला । पितृसत्तात्मक व्यवस्थाको उदयसँगै संसारको कुनै पनि कुनो महिला उत्पीडनबाट अछुतो रहेको छैन । र, उत्पीडनसँगसँगै इतिहासका विभिन्न कालखण्डमा आममहिलाको मुक्तिको आन्दोलन पनि समानन्तर ढंगमा अनवरत अघि बढिरहेकै छ । अनि यही आन्दोलनकै एउटा अनुपम उपलब्धि हो, ८ मार्च अर्थात् ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ ।
नेपाली समाजमा पनि महिलाले इतिहासदेखि आजसम्म बर्बर उत्पीडनको सामना गर्दै आइरहेका छन् । नेपाली महिलाले पनि विभिन्न उत्पीडनविरुद्ध अथक आन्दोलन गर्दै आएका छन् । लैंगिक, जातीय तथा वर्गीय उत्पीडनविरुद्ध, सामाजिक न्याय र सामाजिक तथा राजनीतिक रूपान्तरणका निम्ति नेपाली महिलाले पु¥याएको योगदान कुनै पनि अर्थमा कम आँक्न मिल्दैन ।
नेपाली समाजमा निहित सामाजिक कुरीति, कुसंस्कार र महिलामाथि हुने शोषण तथा दमनविरुद्ध राणाशासनको अवधिमै योगमायाको नेतृत्वमा भएको विशाल विद्रोह एक ऐतिहासिक दृष्टान्त हो । उनको नेतृत्वमा राणाशासक भीम शमशेरसमक्ष सुधारका विभिन्न माग प्रस्तुत गरिएका थिए । ती माग पूरा नगरिएपछि योगमायासहितका ५७ जनाले अरुण नदीमा हामफाली आत्मत्याग गरेका थिए । महिला स्वतन्त्रता र समानताका लागि एवं समग्र सामाजिक न्याय र रूपान्तरणका लागि वि.सं. १९७४ मा योगमायाहरूले आत्मदाह गरेर थालेको आन्दोलनले पनि एक शतक बढी उमेर पार गरिसकेको छ ।
महिलाले आफ्नो आर्थिक, राजनीतिक अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय रूपमै संघर्ष गरेको एक शताब्दी भइसक्यो । विश्व औद्योगिकीकरणसँगै संघर्ष गरेर समानता, सामाजिक न्याय, स्वतन्त्रता, हक–अधिकारको आवाज अन्तर्राष्ट्रिय महिला आन्दोलनको पृष्ठभूमि बन्यो । जमिन तथा उत्पादनका साधनमा महिलाको समान स्वामित्व, उत्पादनमा बराबरी सहभागिता र उपभोगमा बराबरीको ग्यारेन्टी भन्ने धारणाका साथ प्रत्येक वर्ष विश्वभर नारी दिवस मनाउन लागिएको हो । अन्तर्राष्ट्रिय नारी दिवस के हो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ? यो कसरी विश्वभर मनाउन लागिएको हो भन्ने कुरा कौतुहलताको विषय बनेको छ । महिला मुक्तिको लागि नारीहरुले गरेको संघर्षको सम्झनामा हरेक वर्ष मार्च ८ तारिख अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाउँदै आइरहेका छन् । सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको समाजवादी श्रमिक महिलाहरुको दोस्रो अन्तराष्ट्रिय सम्मेलनपछि यो दिवस मनाउन थालिएको हो । यो १९औँ शताब्दीदेखि सुरु भएको महिला आन्दोलनको परिणाम हो, तर अझैसम्म महिलाका समस्यातर्फ ध्यान केन्द्रित हुन सकेको छैन ।
त्यति मात्रै होइन, प्रजातान्त्रिक आन्दोलनका विभिन्न आयाम र शृंखलामा पनि महिलाको भूमिका निर्णायक रहँदै आएको छ । पितृसत्ताले महिलालाई केवल चुलोचौकोमा मात्रै सीमित हुने स्थान दिएको छ । तिनलाई चुरा, पोते, सिन्दुर र शृंगारले सजिसजाउ गुडिया बनाएको छ । सन्तान उत्पादन गर्ने मेसिन तथा सन्तान हुर्काउने तथा घरपरिवार र पतिको सेवा गर्ने घरेलु दास बनाएको छ । यस्तो जर्जर पितृसत्ताको साङ्लो तोडेर, सिन्दुर, पोते तथा शृंगारको बन्धन चुँडालेर र चुलोचौको तथा घरको संघार नाघेर जनयुद्धमा सामेल हुन पुग्नु चानचुने थिएन । समाजले डाडु, पन्यू र बच्चा थमाइदिएका हातहरू राइफल र बम बोक्नमा अभ्यस्त बनेको इतिहास आफैँमा सामान्य होइन । यस अर्थमा पनि संसारका प्रत्येक कुनाका महिला सबैखाले उत्पीडनविरुद्ध उत्तिकै जुझारु बनेर लडिरहेको छन् । यसको दृष्टान्त हामीसँगै छ ।
तर, विडम्बना नै मान्नुपर्छ, यत्रो आन्दोलनको आँधीबेहरी व्यहोरेर यहाँसम्म आइपुग्दा पनि महिलाको स्थितिमा कुनै गुणात्मक फेरबदल आउन सकेन । बरु हिजो मुक्तिको युद्ध लडिरहेका महिला फेरि उही परम्परागत जीवनशैलीमा फर्किनुपरेको यथार्थ छ । आजसम्मको महिला आन्दोलन र मुक्तिको प्रयत्नले शिक्षा, स्वास्थ्य र केही सामाजिक स्थानमा महिलाको उपस्थिति सम्भव भए पनि पूर्णतया महिलाको अवस्थामा भने धेरै फेरबदल हुन सकेको छैन । महिला मुक्तिको सवाल आज पनि पितृसत्ताको पासोमा जकडिइरहेको छ । हिजोको जंगली युगबाट मानिस सभ्यताको आजको युगमा आइपुगे पनि महिलाका सवालमा भने खास परिवर्तन आउन नसक्नु दुःखद छ ।
आर्थिक, राजनीतिक र सांस्कृतिक सवालबाट बेखबर बनाएर सामन्ती पितृसत्ताले महिलालाई लामो अन्तरालसम्म घरेलु दासका रूपमा शोषण गरिरह्यो । एक पुरुषकी सेविका र पराधीन वस्तु बनायो । सामन्तवादबाट पूर्णतया मुक्त हुन नपाउँदै पुँजीवादी व्यवस्थाले आममहिलालाई सस्तो श्रमिकका रूपमा सार्वजनिक वृत्तमा त ल्याइदियो । तर, यो व्यवस्थाले पुनः महिलामाथि शोषणका नयाँ–नयाँ स्वरूपको पनि सिर्जना गरिदियो । एकातिर यसले सस्तो श्रमिक बनाएर महिलाको शोषण गरिरहेको छ भने अर्कातिर पुँजीवादी बजारमा बिकाउ वस्तुमा परिणत गरी महिला शरीरलाई बजारीकरण गरेर मुनाफा कमाइरहेको छ ।
आज पनि महिलामाथिको शोषण उस्तै छ, मात्रै शोषणका प्रकार बदलिएका छन् । अर्थात्, शोषणले स्वरूप बदलेको छ । स्वतन्त्रताका नाममा भइरहेको महिलाको बजारीकरण र महिला शरीरको विनिमय आजको अर्को डरलाग्दो शोषण हो । त्यसैले पनि महिला आन्दोलन र महिला दिवसको सान्दर्भिकता आज पनि टड्कारो छ । महिलाको नाममा केही सिमित महिलाले अवसर पाउनुलाई महिला अधिकारकोे सुनिश्चितता भएको मान्न मिल्दैन ।
महिला मुक्तिका नारा लगाउँदै, गोष्ठी, सेमिनार, महिला अभियानजस्ता कार्यक्रम आयोजना भइरहँदा भुइँतहका, विपन्न वर्गका दलित महिलाहरूले भने घरेलु हिंसा, दाइजो प्रथा, कुटपिट, गालीगलोज, अपहेलना, यातना, तिरस्कार, बोक्सीको आरोप, जबर्जस्ती करणी, विधवा प्रथा, घुम्टो प्रथा, छाउपडी प्रथा, देउकी प्रथा, जातीय विभेद आदि विभेद र हिंसाको सिकार बन्नु परिरहेको छ । त्यस कारणले गर्दा समग्र दलित महिलाको सशक्तीकरण गरेर उनीहरूलाई अगाडि बढाउन एक दिन महिला दिवस मनाएर मात्र हुँदैन, पुरातनवादी सोचमा परिवर्तन र पुरुषवादी मानसिकतामा सुधार ल्याउनुपर्ने देखिन्छ ।
नेपालमा त अझ श्रमिक महिलाले गरेको उत्पीडनविरुद्धको ऐतिहासिक आन्दोलनकै मर्मविपरीत ‘महिला’ शब्दको सट्टा ‘नारी’ शब्दको प्रयोग गर्दै दिवसलाई कर्मकाण्डीय पर्वमा रूपान्तरण गरिएको छ । अहिले यो फगत नेपाली समाजको अर्को ‘दर खाने दिन’ बन्न पुगेको छ । तर, महिलाका संगीन मुद्दालाई एकातिर थाती राखेर तडकभडकसाथ सम्भ्रान्त र पहुँचवाला महिलाले भड्किलो गरी विभिन्न पार्टी प्यालेसमा नाचेर, गाएर र रमाएर ८ मार्च मनाउनु विश्व श्रमिक महिला आन्दोलनकै हुर्मत लिनु हो । त्यसैले विश्व समाजवादी आन्दोलनले स्थापित गरेका महिलाका मुद्दालाई संरक्षण गर्दै थप अधिकारको आवाज उठाउने ऐतिहासिक दिनका रूपमा मार्च ८ लाई बुझ्नुपर्छ ।
दिवसको जिउँदो–जाग्दो इतिहासले भन्छ, यो अत्यन्तै संरचनाको पिँधमा दबिएका भुइँ महिलाको हकहितको आवाज बोल्ने दिन हो । अधिकारका निम्ति लड्न र बोल्न सिकाउने दिन हो । ८ मार्च निरन्तर गरिखाने श्रमिक महिलाको पक्षमा बोल्दै समग्र महिला मुक्तिको बाटोमा निरन्तर लडिरहने प्रतिबद्धताको दिन हो ।