महिलाका इच्छा, सोच र दृष्टिकोणहरूमा पुरुष इच्छा, सोच र दृष्टिकोण हावी भएझैं महिला र हाँसोबीचको आपसी सम्बन्धमा पनि पुरुष सत्ता हावी भइदिन्छ । हाँसो महिलाको हुन्छ, त्यसलाई पुरुषले आफ्नै अनुकूलतामा पारेर उपभोग गर्ने र अर्थ्याउने गर्छन् । 

पितृसत्तात्मक सामाजिक–सांस्कृतिक मनोवृत्ति हावी भएको माहोलमा पुरुषको हाँसो स्व–सुखानुभूतिका लागि हुने गर्छ। जसलाई सहज र प्राकृतिक मानी स्वीकारिन्छ। पुरुषहरूको त्यस्तो हाँसो एकबाट अर्कोमा सर्दै सामूहिक आनन्दको कुरा हुन्छ। पुरुष शरीरबाट उत्पन्न हुने हाँसो जस्तोसुकै र जुनसुकै आवाजमा होस् त्यसको न कुनै यौनिक चरित्र हुन्छ, न त विशेषता नै । त्यसलाई अयौनिक मानिन्छ। त्यसले कुनै हानि गर्दैन । बरू त्यसले शक्ति प्रदान गर्छ । उनीहरू बढी दिमागी र शारीरिक ऊर्जा खर्चिने प्रभावशाली कामकाज गर्छन्, सधैंजसो व्यस्त रहन्छन्। त्यसैले, त्यस्तो हाँसोले उनीहरूको मानसिक र शारीरिक स्वास्थ्य सबल बनाउँछ र त्यो उनीहरूको आवश्यकता हो भन्ठानिन्छ । अनि, रमाउन वा खुशी प्रकट गर्न जन्मजात लिएर आएको पुरुषको स्वभाव र हकका रूपमा स्वीकारिन्छ । 

तर, यही मामिलामा ‘महिला हाँसो’लाई भने भिन्न तरिकाले बुझ्ने गरिन्छ । महिलाको हाँसो मूल्यवान् पनि मानिन्छ। तर, त्यसको मूल्य स्वयं महिलालाई चुकाउन लगाइन्छ। उनीहरू हाँस्नुको कारण, अवस्था र प्रयोजन महिलाहरू आफैंले तय गर्ने हैसियत राख्दैनन् । आफ्नै हाँसोलाई निर्बाध रूपमा प्रकट गर्ने र त्यो क्षणलाई स्वतन्त्र ढंगले उपभोग गर्दै बाँच्ने अनुकूलता उनीहरूलाई उपलब्ध छैन। महिलाको इच्छा, सोच र दृष्टिकोणहरूमा पुरुष इच्छा, सोच र दृष्टिकोण हावी भएझैं महिला र हाँसोबीचको आपसी सम्बन्धमा पनि पुरुष सत्ता हावी भइदिन्छ। हाँसो महिलाको हुन्छ, त्यसलाई पुरुषले आफ्नै अनुकूलतामा पारेर उपभोग गर्ने र अर्थ्याउने गर्छन् । 

हाँसो महिला स्वयंका लागि भन्दा पनि उनीहरूका आत्मीयजन वा निकटतम व्यक्ति– खासगरी प्रणय सम्बन्ध स्थापित भएको वा स्थापित गर्न चाहेको विशेष पुरुषका लागि हो । विशेष पुरुष बाहेकका सामु महिलाको हाँसो छुट्यो भने त्यसलाई पितृसत्तात्मक कोणबाट जोखिमको जड मान्दै दोषयुक्त कामका रूपमा चित्रण गरिन्छ । उत्ताउलो र छाडापनको प्रदर्शन मानिन्छ । मर्यादा खस्किएको र अरूको दृष्टिमा खुलेआम आफूलाई मनोरञ्जनको वस्तुमा परिणत गरेको ठानिन्छ । विपरीत लिंगी आकर्षणको पुरातन सोच अनुसार, महिला हाँस्नु भनेको पुरुषहरूलाई आफूतर्फ आकर्षित गर्नु हो। गलत नियत राखी उनीहरूलाई यौनिक रूपमा हिंस्रक तरिकाले प्रकट हुन उक्साउनु हो । 

हाँसेर ‘उत्ताउलोपन’ प्रदर्शन गरेबापत वा हाँसेर पुरुषको चित्तमा ठेस पुर्‍याएबापत महिलाले कुनै न कुनै हिसाबले क्षतिपूर्ति गर्नैपर्छ । निजी तथा सार्वजनिक वृत्तमा गाली बेइज्जती होस् वा दुर्व्यवहार, हिंसा वा यौन शोषणकै शिकार किन हुनु नपरोस्, त्यो उसले व्यहोर्ने क्षतिपूर्ति हो भन्ने मानसिकताले धेरै हदसम्म काम गर्छ । अझ, पुरुष लक्षित हाँसो हाँस्नुले ठूलै विपत्ति निम्त्याउने दृष्टान्त पनि हाम्रो आसपास स्थापित गरिएका छन्। 

जस्तैः मिथक महिला पात्र द्रौपदीको हाँसोलाई दुर्योधनप्रतिको उपहास भनी व्याख्या गर्दै त्यही हाँसोलाई महाभारत युद्धको कारण भन्ने गरेको पनि पढ्न पाइन्छ । यो कुरा विवादास्पद भए पनि हाँसो, महिला र पुरुषबीचको त्रिकोणात्मक सम्बन्धलाई पुरुष सत्ताको कोणबाट कसरी बुझ्ने र बुझाउने ?