काठमाडौं - नेपाल समूह विजेता बन्दै एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटको समूह ‘बी’ अन्तर्गत आइतबार नर्दन मारियाना आइल्याण्डलाई ६-० ले पराजित गरेपछि नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।
फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा नेपालका लागी दिपा शाही र सारा बज्राचार्यले दुई-दुई गोल गरिन् भने सरस्वती हमाल र जेनिफर रानाले समान एक गोल गरिन् ।
पहिलो हाफमै ५ गोल गरेको नेपालले दोस्रो हाफमा एक गोल मात्र गरेको थियो । जितपछि नेपालले समूह ‘बी’ दुवै खेल जित्दै ६ अंक जोड्दै अपराजित रहेर दोस्रो चरणमा पुगेको हो ।
नेपालले पहिलो खेलमा घरेलु टोली प्यालेस्टाइनलाई ६-० ले पराजित गरेको थियो । यूएईले नाम फिर्ता लिएपछि समूह ‘बी’ मा तीन टिम मात्र सहभागि थियो ।
नेपालसँगै अष्ट्रेलिया, भियतनाम, म्यानमार, चीन र इरान दोस्रो चरणमा प्रवेश गरेका छन् । छनोटको पहिलो चरणमा प्रतिस्पर्धामा रहेका ८ समूहको विजेता (८ टोली ) दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको बाट उत्कृष्ट २-२ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ । दोस्रो चरणको खेल जुन ३-११ मा हुनेछ ।
सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुने एएफसी यू-२० महिला एसियन कपमा आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सीधै छनोट भइसकेका छन् ।