तथापि श्रृष्टि, श्रृजना र सम्भाव्यतामा हामी नारी परिपूरक हौँ । भनिन्छ, रथका दुवै पाङ्ग्रा भएर जन्मिने वा सहयात्रा गर्ने दुई धु्रव नारी र पुरुष हुन् । र, आजको विषय चाहिँ म नारी हुँ ।
एक हारमा वा एक शब्दमा समष्टिगतरुपमा समावेश गर्दा नारी सर्वोत्कृष्ट शब्दको पर्यायवाची रुप हुन् । नारीबिना न कुनै संसार चलेको छ, न संसार कल्पना गर्न सकिन्छ । तर पनि नारीलाई समाजले हेर्ने फरक दृष्टिकोणले समाज माथि उठ्न सकेको छैन । यसो भनिरहँदा नारी सर्वस्व होइन तर, नारीविना कुनै श्रृष्टि परिकल्पना गर्नु मुर्खता हो । यद्यपि नारी सदैव चुलोचौकामा सीमित रहिरहँदा घरपरिवार र परिस्थितिमै रुमल्लिँदा उनीहरु भातै पकाउने हुन् भन्नेगरी बुझ्ने समाजका कारण नारीलाई हेर्ने नजर फरक बनेको हो । निर्णायक तहमा नारी नपुग्ने वातावरण बनाइएको हो ।
समाजमा नारीलाई प्रयोग गरिने विम्ब र प्रतिविम्बहरु उदाहरण मात्र भए पनि पूर्ण स्वरुप र कदहरु नारीबिना स्थापित हुन सक्दैनन् । सामाजिक रुपमा बुझिएको नारी भोगबिलास र प्रजनन् स्वास्थ्यसँग मात्र जोडिने पात्र बनाइँदा पनि नारीको स्थान के, कति र कहाँ र प्रगति कति गर्न सक्छन् भन्ने विषय गौण बनेका हुन् । नारीविनाको जीवन कोही कसैले परिकल्पना गर्दछ भने त्यो दिवा सपना भन्दा माथि हुन सक्दैन । कोही कसैले कुमार बस्छु भन्न सक्छ । तर जीवनका उत्तरार्धमा नारीविनाको कल्पनामा ऊ पछुताएकै देखिएका छन् । नारी विनाको जीवन कति धेरै कष्टकर छ भन्नेकुरा अनुभूत गरेकै पाइएको छ । अझ ऊ कुमार बसोस् वा नबसोस्, उसको उत्पत्ति नै नारीबाट भएको हो ।
जसरी हर बिहानी सूर्यको किरणसँगै उज्यालो हुन्छ । कालखण्डमा मध्यान्ह, उत्तरार्धसँगै आशातीत नयाँ बिहानीसँगै सूर्य विलय हुन्छ । त्यसैगरी, जीवनका हर बिहानी आशाको झुल्कोसँगै उदय र उत्तरार्ध हुँदै अस्ताउने गर्दछ। यी र यस्ता विषय जीवनको बालापन, वयस्क, यौवन अवस्थासम्म आइपुग्ने गर्दछ । यी दिन पार गर्न हरेक घामपानी सहेर संघर्षका मात्रा फरक र व्यक्तिविशेष अनि परिस्कृत धारहरु हुन सक्दछन्। जसरी लट्टाइले धागो, घट्टले कुलो र खोलाले धार फेर्दछ । त्यसैगरी, जीवनको समयावस्था र शारीरिक परिर्वतनसँगै मारिने फड्कोमा नारी परिपूरक हुने गर्दछन् अनेक अवयव बनेर ।
समयको गोलबन्द चक्र नै जीवन हो । यसमा हासो, रोदन, खुशी, दुःखसँगै जीवनको यौवन, वयस्क अवस्था हुन्छ । जस्तो यौवन अवस्थामा व्यक्ति प्रवेश गर्दछ, तब उसलाई सामाजिक, सांस्कृतिक र पारिवारिक अवस्थाले आशातीत उपलब्धीका बाटोहरु पहिल्याउन प्रेरणा प्रदान गर्दछ। यी र यस्ता अनेकौँ सपनाका आधारशिलाहरु तयार गर्दै सुनिश्चित भविष्यको आधार तयार गर्ने साथ भने नारीबाट हुन्छ ।
नानी, छोरी, चेली, हुँदै किशोरी, वयस्कसँगै विवाहित जीवनको शुरुवातबाट श्रीमती, बुहारी, भाउजु, जेठानी, देउरानी हुँदै नातागत रुपमा आमा बन्दै समयचक्रमा पिसिँदै सासुसम्म बन्छिन् नारी । एउटै प्राकृतिक स्वरुप बोकेर समय र परिवर्तित समयका हरेक कालखण्डमा ढल्दै अनेकौँ उपमा र पदवीको पगरी गुथ्दै एक व्यक्ति दशौँ रुप धारण गरेर बाँच्दै र बचाउँदै जुनी जीवन्त बनाउने काम नारीबाट हुन्छ ।
मात्र म स्त्री, शारिरीक बनावटमा म नारी, म महिला, सामाजिक रुपमा कहिँ अस्तित्व र स्वाभिमान नठान्ने यो पितृसत्तात्मक पुरुष प्रधान समाजमा म नारी नै हुनु कहिँ पाप र अभिषाप होइन ? रुप एक रंग अनेक, बालापनदेखि वृद्धासम्म हुँदा अनेक रुप र नातालाई जीवन्त राख्दै हरेक वर्षात् र हिउँदका घामपानी सहँदै हिँड्नु पर्ने नारी हुन् । यसैले नारी विनाको संसार अकल्पनीय भएकाले हामीले नारीलाई सम्मान गर्नु पर्दछ । नारीको अस्तित्व स्वीकार गरिँदा प्रगतिको पांग्रा अरु रफ्तारमा जानेमा शंका छैन । नारीप्रति सम्मान गरौँ ।